
काठमाडौँ- शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए।
हाल फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनि बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए ।
पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिएका हुन्।
लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भैरहेको जानकारी दिए।
‘तपाईले धेरै पटक भाका फेरी सक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस’,प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधीलाई निर्देशन दिए ।
काठमाडौ र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भैरहेको छ । ‘हामी मंसिर १ गतेभित्र फोहोर फ्याक्नेगरी तयारी गरेका छौ’, निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने । प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाडा पुगेका थिए ।
मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनाली सहितको टोली निरीक्षण गर्न पुगेका थिए ।
मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प नभएको बताए । सरकारको महत्वपुर्ण आयोजनाको रुपमा रहेको सो ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गिकरण नगरी बिसर्जन गर्दा २५ र वर्गिकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए।
दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर बिसर्जन भैरहेको छ ।
बिसं २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी सिसडोल ल्याण्डफिल साइट तयार गरिएको थियो । लगत्तै दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।