
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत शनिबार भइरहेको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गरेको दिल्ली क्यापिटल्स १ सय १० रनमा समेटिएको छ। दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १० रन जोड्न सक्यो।
दिल्लीलाई सस्तोमा समेट्न ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन तीन विकेट लिए। राहुल चाहर र नाथन कुल्टर नाइलले एक–एक विकेट हात पारे। दिल्लीका श्रेयस अय्यरले २५, रिसभ पन्तले २१, पृथ्वी सले १०, सिमरन हेटमेयरले ११ र रविचन्द्रन आश्विनले १२ रन बनाए। शिखर धवनले खाता खोल्न सकेनन्।
बोल्टले चार ओभरमा २१ र बुमराहले ४ ओभरमा १७ रन दिए। एक रन जोड्दा पहिलो विकेट गुमाएको दिल्ली बोल्ट र बुमराहको कसिलो बलिङपछि ६२-५ को स्थितिमा पुगेको थियो। बोल्टले स, आश्विन र धवन तथा बुमराहले स्टोइनिस, पन्त र अक्सर पटेललाई आउट गरे।
यो खेलमा दिल्लीले जित हात पार्न सके प्ले अफमा स्थान बनाउने छ। मुम्बई विजयी भए शीर्ष २ भित्र रहने निश्चित हुनेछ। ८ टोली सहभागी प्रतियोगितामा पहिलो चरणका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। १२ खेलबाट १६ अंक भएको मुम्बई प्लेअफ पुगिसकेको छ।
१२ खेलबाट १४ अंक भएको दिल्ली, रोयल च्यालेन्जर्स बैंग्लोरसँग समान अंक भएपनि नेट रनरेटमा पछाडि रहँदै तेस्रोमा छ। १३ खेलबाट १२ अंक भएको किङ्स इलेभेन पन्जाब चौथो स्थानमा छ। पन्जाबले अब एक खेल खेल्न बाँकी छ।
१४ खेलपछि शीर्ष चार टोलीमध्ये शीर्ष दुई टोलीबीच फाइनल पुग्न पहिलो क्वालिफायर हुनेछ। त्यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एक खेल खेल्ने मौका पाउने छ, तेस्रो र चौथो स्थानका टोलीबिच हुने खेलको विजेतासँग।
दिल्लीले पछिल्ला तीन खेलयता जित हात पार्न सकेको छैन। मुम्बईले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो।