
बार्सिलोनाको स्पेनिस ला लिगामा लगातार खराब प्रदर्शनको शृङ्खला जारी रहेको छ । उसले ला लिगामा लगातार चौथो खेलमा जित निकाल्न सकेन ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित भएको एलाभेससँग १–१ को बराबरीमा रोकियो । ३१ औँ मिनेटमा रिओजाको गोलबाट घरेलु टोली एलाभेसले अग्रता लियो ।
६२ औँ मिनेटमा जोटा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एलाभेस १० खेलाडीमा सीमित भयो । ६३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए ।
एलाभेसका गोरक्षकले आन्सु फाती, लियोनल मेस्सी, मिलालेम प्जानिक र सर्गिनो डेस्टको प्रहार रोके । बराबरीपछि १२ औँ स्थानको बार्सिलोनाको ६ खेलबाट ८ अंक भएको छ । एलाभेस समान ८ अंकसहित १३ औँ स्थानमा छ ।