
काठमाडौँ- प्रहरीले राजधानीको धापासीमा दुई वटा लागु औषध दुर्व्यसनी समूहबीच भएको विवादमा एक युवकको हत्या भएको निष्कर्श निकालेको छ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई कर्तव्य ज्यान कसुरमा म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ। अन्य ६ जनालाई अभद्र व्यवहार कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए।
टोखा नगरपालिका-५ धापासीस्थित देवी मन्दिर परिसरमा चक्कु प्रहारबाट सख्त घाइते भएका गोरखाका २४ वर्षीय आशिष मगरको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले आक्रमण गर्ने समूहका तीन जनालाई कर्तव्य ज्यान कसुरमा अनुसन्धान अगाडि बढाएको हो।
पक्राउ पर्नेमा संखुवासभाका १९ वर्षीय दोर्जे शेर्पा, टोखाकै २६ वर्षीय राम श्रेष्ठ र स्याङ्जाको गल्याङका २७ वर्षीय रवि थापा मगर रहेका छन्। ‘घटना हुनुभन्दा अघिल्लो दिन पनि यी दुई समूहबीच विवाद भएको देखिन्छ’, परिसरका प्रवक्ता राठोरले भने।