
सन् २००० सम्म सराह इजेकायललाई स्वास्थ्य सम्बन्धी कुनै समस्या थिएन। ३४ वर्षको उमेरमा दोस्रो सन्तानलाई जन्म दिने तयारी गर्दैगर्दा बायाँ पाखुरा कमजोर महसुस गर्न थालिन्।
उनले बोलेको लरबरिन थाल्यो। केही महिनामा उनलाई एमियोट्रोफिक ल्याटरल स्केलरसिस(एएलएस) भएको पहिचान भयो। यो त्यस्तो रोग थियो जो ५० हजारमा एक जनालाई हुन सक्छ।
अचेल उनका हातहरु चल्दैनन्। शरीर आफै चलाउन सक्दिनन्। बोल्न पनि सक्दिनन्। ‘रोग लाग्नुभन्दा अघि मेरो जीवन सामान्य थियो। म पूर्णकालीन आमा थिएँ। खाना पकाउनु, सरसफाइ गर्नु अनि जिम जानु दिनचर्या हुन्थ्यो’, लन्डन निवासी इजेकायल भन्छिन्।
शरीर नचले पनि उनी दिमाग चलाउन सक्छिन्। आँखाका नानीहरु आफुले चाहेको दिशामा चलमलाउन रोगले छेकेको छैन। प्रविधिले मारेको छलाङले उनी आँखाका नानीले कम्प्युटरमा पेन्टिङ गर्छिन्। आँखाको नानीको चलायमानअनुसार कम्प्युटरमा माउसको ‘क्रसर’ चल्ने प्रविधिको सहायताले इजेकायल सिर्जनाहरुर गर्छिन्।
टोबिल डाइनाभक्सले बनाएको ‘आई गेज’ प्रविधिले यो सम्भव भएको हो जसको प्रयोगले आँखाबाटै यस्ता विरामी सम्वाद गर्न सक्छन्, कम्प्युटरमार्फत। त्यसका लागि क्यामरा, प्रोजेक्टरलगायत सामग्रीको माध्यममार्फत आँखाको नानीले कम्प्युटरको स्क्रिनमा रहेको ‘क्रसर’लाई आफूले चाहेअनुसार निर्देशन दिन सक्छ। एएलएस भएका चर्चित वैज्ञानिक स्टेफन हकिङले झन्डै यस्तै प्रविधिको माध्यमले सञ्चार गर्थे।
सामान्य अवस्थामा रहँदा पेन्टिङ सम्बन्धी ज्ञान हासिल गरेकी इजेकायलले सन् २०१२ यता आई गेज प्रविधि पछ्याउँदै सिर्जनाहरु गरिरहेकी छिन्। उनले आफ्नो पहिलो सिर्जनालाई ‘पिसफुल वारियर’ शीर्षक दिएकी थिइन् जुन नाम डान मिलमानको पुस्तकबाट लिइएको थियो। ‘यसले निराशालाई चित्रण गर्ने कल्पना गरेको थिएँ तर काम गर्दै जाँदा परिणाम फरक आयो। अर्कै सन्देश दिने भयो’, इजेकायल भन्छिन्।
उनी अगाडि थप्छिन्, ‘जब म सिर्जना गरिरहेको हुन्छु त्यतिबेला काममा मात्र केन्द्रित हुन्छु। त्यतिबेला मेरा सबै समस्याहरु हराउँछन्।’ इजेकायलका पेन्टिङहरुको बेलायतमा प्रदर्शनीहरु भइसकेको छ। कतारमा पनि प्रदर्शनी भयो।
‘प्रविधिले गर्दा मलाई सही जीवन बाँचेको छु जस्तो लाग्छ’, इजेकायल कम्प्युटरमार्फत आफ्ना अनुभवहरु साट्छिन्। बेलायतमा कोरोना भाइरसको महामारी सकिएपछि उनलाई कला प्रदर्शनी गर्ने रहर छ। त्यसअघि उनी आफ्ना आर्टहरु अनलाइनमार्फत पनि बिक्री गरिरहेकी छिन्।