
इण्डियन प्रमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतरबार भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएसँगै किङ्स–११ पञ्जाबको प्लेअफ पुग्ने सम्भावना सकिएको छ। चेन्नई भने यसअघि नै प्लेअफ प्रतिस्पर्धाबाट बाहिरिसकेको छ।
युएईको दुबईमा भएको खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो।
पञ्जाबका लागि दीपक हुडाले सर्वाधिक ६२ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। पञ्जाबका कप्तान केएल राहुलले २९ रन बनाउँदा मयंक अग्रवाल २६, मन्दीप सिंह १४ र क्रिस गेल १२ रन बनाएर आउट भए। अरुले दोहोरो अंकको रन जोड्न सकेनन्।
पञ्जाबको ब्याटिङ रोक्नका लागि बलिङतर्फ चेन्नईका लुङ्गी नगिदीले तीन विकेट लिए भने रविन्द्र जडेजा, इमरान ताहिर र शार्दुल ठाकुरले एक–एक विकेट लिए।
१ सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्यो। चेन्नईका लागि रुतुराज गाइक्वाडले ६२ फाप डु प्लेसिसले ४८ र अम्बाती रायडुले ३० रन बनाए।
पञ्जाबका क्रिस जोर्डनले एक विकेट लिए पनि अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेनन्।