
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।
विगत २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजागर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताए ।
साेमबार काठमाडौँमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास रहेको बताए ।
उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । आफूलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने विश्वास गरेको बताए ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेतो साथ छ ।
महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ ।
गत चैतमा हुनुपर्ने महासंघको ५४ औँ साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । प्रधान समूहले सोमबार नै महासंघमा उम्मेदवारी समेत दर्ता गराउँदैछ ।