
धनगढी – भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिश दिने वडाध्यक्ष धरौटीमा छुटेका छन्।
भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिश दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा छुटेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जानकारी दिए।
जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनेको सिफारिश गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
यस्तै झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक र नक्कली दाजु भने कारागार चलान भएका छन्।
नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।
प्रहरी नायब उपरीक्षक विष्टले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको बताए ।
चौधरीसँगै पक्राउ परेकी गिता चौधरी भने साधारण तारेखमा छुटेकी छन् ।