
सिमकोट– १७ वर्षपछि आयोजना सम्पन्न भएर बत्ती बल्न सुरु भएको दोस्रो दिन हुम्लाको राया खोला जलविद्युत आयोजनाको पावर हाउसमा रहेको मेशिन तोडफोड भएपछि विद्युत सेवा अवरुद्ध भएको छ।
केही दिनअघि मात्र उद्घाटन भएर सुचारु भएको उक्त विद्युत आयोजनामा अज्ञात व्यक्तिहरुले तोडफोड गरेपछि सेवा अवरुद्ध भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले जानकारी दिए।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ राया गाउँका स्थानीय टेक बहादुर बुढाले राया गाउँका लागि उत्पादित विद्युत आयोजनाको पावर हाउसको झ्याल फोडेर मेशिन तोडफोड भएको बताए। उक्त घटनाको बारेमा प्रहरीलाई जानकारी गराइएको बुढाले बताए।
उक्त आयोजनाको निर्माण कार्य भइरहेका बेला पुरानो उपभोक्ता समितिले विरोध गर्दै आएको बताउँदै अध्यक्ष रावलले उनीहरुबाटै तोडफोड भएको दावी गरे। आयोजनाको उद्घाटन भएको दिन पनि पूर्व निर्माण समितिका सदस्यबाट अवरोध भएको अध्यक्ष रावलले बताए।
अध्यक्ष रावलका अनुसार दुई दिनअघि मात्र आयोजनाबाट २३.२० किलोवाट विद्युत उत्पादन सुरु भएको थियो। यसबाट राया गाउँका दुई सय घरधुरीमा बत्ती बाल्न सुरु भएको थियो।
आयोजनाका लागि प्रदेश निर्वाचन क्षेत्र विकास कोष, गाउँपालिका, स्नोल्याण्ड एकिकृत विकास नेपाल, वैकल्पिक उर्जा, वडा र स्थानीय जनताको जनश्रमदानको लागत साझेदारीमा निर्माण काम सम्पन्न भएको थियो।
उजूरी नआए पनि तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।