
विराटनगर – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका १ की महिला र इटहरी उपमहानगरपालिका ६ की ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।
धरानकी ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा कोभिड १९ अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए।
श्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै उनलाई कार्तिक ५ गते थप उपचारका लागि प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
त्यसैगरि, इटहरी ६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो।
बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुवैको शव नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा ८७ जना संक्रमितको मृत्यु भएको छ।