
माेरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार सप्तरी राजविराजका दुई जना र मोरङका एकजनाको बिहीबार विहान मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले सप्तरीको राजविराज–८ का ६५ वर्षीय पुरुषको विहान ८ बजे मृत्यु भएको हो। उनमा कार्तिक १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सोही दिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो।
यस्तै राजविराज–१ की २३ वर्षीय युवतीको पनि उपचारका क्रममा बिहीबार विहान ३ः१५ बजे मृत्यु भएको छ। रक्तअल्पता, थाइराइड, लगायतका समस्याबाट पीडित युवतीमा कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई प्रतिष्ठानबाट कार्तिक १९ गते कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
त्यसैगरि मोरङका ५९ वर्षीय पुरुषको बिहीबार विहान ३ बजे उपचारका क्रममा मृत्यु भएको छ। ११ दिनअघि कोभिड १९ पुष्टि भएका ती पुरुषलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। उनमा उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको प्रतिष्ठानले जनाएको छ।