
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट २०२० को पहिलो क्वालिफायरमा बिहीबार साँझ साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्दै छ।
मुम्बई यसअघि आईपीएलमा पाँचपटक फाइनल पुगेको छ। दिल्ली भने पहिलोपटक फाइनल पुग्ने प्रयाशमा छ। मुम्बई सर्वाधिक चारपटकको विजेता पनि हो।
लिग चरणका दुवै खेलमा मुम्बईले दिल्लीलाई हराएको थियो। हालसम्म दिल्ली र मुम्बई आपसमा २६ पटक भिडेका छन्। यीमध्ये दिल्लीले १२ र मुम्बईले १४ खेलमा जित हात पारेको छ।
प्रतियोगिताको यो सिजन मुम्बई शानदार लयमा रहेको छ। उसले लिग चरणमा १४ खेलबाट १८ अंक जोडेर पहिलो स्थानमा रहेको थियो। दबाबरहित खेलमा सनराइजर्स हैदराबादसँग १० विकेटले पराजित भएर उसको पहिलो चरणको यात्रा समाप्त भएको थियो।
रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरि दिल्लीले प्ले अफसँगै शीर्ष-२ मा स्थान सुरक्षित बनाएको थियो। बैंगलोरमाथी प्राप्त जितले दिल्लीको लगातार चार हारको क्रम रोकिएको थियो।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनल पुग्न पुन एकपटक अवसर पाउने छ। त्यसका लागि लिग चरणको तेस्रो र चौथो स्थानको टोलीबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
प्रतियोगिताको यो सिजन मुम्बईका क्विन्टन डे कोकले करिब ३७ रनको औसतमा चार सय ४३, इसन किसनले ४७.५५ रनको औसतमा चार सय २८ र सुर्यकुमार यादबले ४१ रनको औसतमा चार सय १० रन बनाएका छन्। रोहित शर्माले २ सय ६४ , कायरन पोलार्डले २ सय ५९ रन र हार्दिक पाण्ड्याले २ सय ४१ रन जोडेका छन्।
दिल्लीका शिखर धवनले ४७.७२ रनको औसतमा पाँच सय २५, श्रेयस अय्यरले ३२ रनको औसतमा चार सय २१ र रिसभ पन्तले ३१ रनको औसतमा २ सय ८२ रन बनाएका छन्। मार्कस स्टोइनिसले पनि २ सय ४९ रन बनाएका छन्। प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा धवन तेस्रो स्थानमा छन्। उनले दुई सतक र ३ अर्धसतक बनाएका छन्। तीन खेलमा भने शुन्यमै आउट भएका छन्।
बलिङतर्फ दिल्लीका कागिसो रबडा २५ विकेटसहित यो सिजन सर्वाधिक विकेट लिने बलर हुन्। दोस्रो स्थानमा रहेका मुम्बईका जसप्रित बुमराहको नाममा २३ विकेट छ। बलिङ इकोनोमी बुमराहको ६.९६ र रबडाको ८.१४ रन प्रति ओभर रहेको छ। मुम्बईका ट्रेन्ट बोल्टले २० र दिल्लीका एनरिच नोर्त्याले १९ विकेट हात पारेका छन्।