
हुम्ला- नेपाली भू-भागबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि पहिलो भारतीय धार्मिक पर्यटकहरुको टोली सदरमुकाम सिमकोट पुगेर लाप्चातर्फ लागेको छ।
कोरोनाको कारण यसवर्ष हिल्सा नाका नखुलेपछि बन्द रहेको मानसरोवर कैलाशको यात्राको यो सिजनकै अन्त्यतर्फ नेपाली भुभागबाटै दर्शन गर्ने गरि सुरु भएको छ।
कैलाश ट्रेकका पर्यटन व्यवसायी बिष्णु रावतले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट पहिलो भारतीय धार्मिक पर्यटकहरुको टिम मानसरोवर कैलाशको दर्शन गर्ने गरि सिमकोट पुगेर लाप्चातर्फ लागेको बताए।
टिम नेपालगंज हुदै सिमकोटबाट स्थानीय गाडीमा लाप्चातर्फ लागेको हो । टिममा पाँच जना भारतीय धार्मिक पर्यटकहरु सहभागी छन् । टोलीले तीन देखि चार दिनमा मानसरोवर कैलाशको नेपाली भुभाग लाप्चाबाट दर्शन गरेर सदरमुकाम सिमकोट फर्कने छ । एक रात टोलीले चार हजार दुई सय मिटर अग्लाईमा रहेको तुम्लिङमा बास बस्नु पर्नेछ।
भोलिपल्ट बिहान पाँच हजार मिटर अग्लो लाप्चाबाट खुला आँखाले दर्शन गर्न पाउने छ । दर्शन गर्ने दिन मौसम भने सफा हुनु पर्नेछ । उक्त रुटको प्रचार प्रसार र अवस्थाको अध्ययनका लागि रावतले पनि केही समय अगाडी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका थिए।
रावतले यो टोलीको यात्रा सफल रहे यसै सिजनमा अरु बीस देखि पच्चीस टिमले मानसरोवर कैलाशको दर्शन गर्ने तय भएको बताए । नजिकबाट दर्शन गर्न नपाए पनि यो यात्रा हेलिकोप्टरको भन्दा निक्कै सस्तो समेत हुनेछ।
नेपाली भुभागबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक पर्यटकहरु हुम्ला आएर लाप्तातर्फ लागेपछि हुम्लाका पर्यटन ब्यबसायी, होटेल र यातायात व्यवासयी खुसी भएका छन्। केही वर्ष अगाडिबाट आन्तरिक पर्यटकहरुले पनि मानसरोवर कैलाशको लाप्चाबाटै दर्शन सुरु गरेको भएपनि यस वर्षमात्र तीन सय भन्दा बढी आन्तरिक पर्यटकहरुले दर्शन गरेका थिए। पर्यटकीय क्षेत्रका रुपमा लाप्चाले बिस्तारै गति लिदै छ ।