
मोरङ-कोरोना भाइरस कोभिड १९ का कारण विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ।
विहीबार अपरान्ह मृत्यु भएका दुवै जना इटहरी उपमहानगरपालिकाका बासिन्दा हुन्।
नोबेल शिक्षण अस्पतालमा उपचाररत इटहरी १८ का ५५ वर्षीय पुरुषको अपरान्ह ३ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि विरामीलाई कार्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको १८ गते पिसिआर परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो।
दमको समस्याबाट पीडित विरामीको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो। त्यसैगरि, इटहरी ४ का ७१ वर्षीय बृद्धको न्यूरो अस्पताल विराटनगरमा उपचार गर्दै गर्दा मृत्यु भएको छ ।
न्यूरो अस्पतालको कोभिड १९ फोकलपर्सन सुरेश आचार्यका अनुसार विरामीको अपरान्ह ३ बजेर १५ मिनेटमा मृत्यु भएको हो। उनको पनि श्वासप्रश्वासमा समस्या रहेको र कार्तिक १७ गते थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको आचार्यले जानकारी दिए।
विरामी भर्ना गरेकै दिन स्वाब नमूना परिक्षणका क्रममा पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। यसपछि विरामीलाई आइसोलेसनमा राखेर उपचार अघि बढाइएको आचार्यले जानकारी दिए।