
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट २०२० को पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
यो खेल नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ। दिल्लीमा रहेका नेपाली स्पीनर सन्दीप लामिछाने फेरि पनि टोलीमा अटाउन सकेनन्। सन्दीपले यो सिजन कुनैपनि खेलमा मौका पाएका छैनन्। दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उतारेको टोलीलाई निरन्तरता दिएको छ।
मुम्बई यसअघि आईपीएलमा पाँचपटक फाइनल पुगेको छ। दिल्ली भने पहिलोपटक फाइनल पुग्ने प्रयासमा छ। मुम्बई सर्वाधिक चार पटकको विजेता पनि हो।
लिग चरणका दुवै खेलमा मुम्बईले दिल्लीलाई हराएको थियो। हालसम्म दिल्ली र मुम्बई आपसमा २६ पटक भिडेका छन्। यीमध्ये दिल्लीले १२ र मुम्बईले १४ खेलमा जित हात पारेको छ।