
मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उदयपुर कटारी नगरपालिका घर भएका १४ वर्षीय बालकको उपचारका क्रममा शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको छ। क्षयरोग र फोक्सोमा समस्या रहेको बालकमा कार्तिक १२ कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएको चार दिनपछि बालकलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
त्यसैगरि धरान–१२ की ७८ वर्षीया बृद्धाको पनि उपचारकै क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको छ। मानसिक रोगबाट पीडित बृद्धामा कार्तिक २० गते कोभिड–१९ पुष्टि भएको थियो। कोभिड पुष्टि भएसँगै बृद्धालाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिष्ठानमा हालसम्म ८८ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। त्यसैगरि हालसम्म कुल ८ सय ७९ जना संक्रमित निको भएर डिस्चार्ज भएको प्रतिष्ठानमा ११ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।