
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
यो खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्सको सामना गर्नेछ।
बैंगलोरले पछिल्ला चार खेल लगातार हारेको छ। हैदराबादले भने लगातार तीन खेल जितेको छ। उसले अन्तिम खेलमा शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई १० विकेटले हराएर प्ले अफमा स्थान बनाएको थियो।
आइपिएलमा हैदराबाद र बैंगलोर हालसम्म १६ पटक भिडेका छन् जसमा हैदराबादले ९ जित र ७ हार ब्यहोरेको छ।
बैंग्लोर विराट कोहलीको कप्तानीमा छ। टोलीमा एबी डे भिलियर्स, क्रिस मोरिस, देवदुत पडिक्कललगायत विस्फोटक ब्याट्सम्यान छन्।यसअघि तीनपटक फाइनल पुगेको बैंग्लोरले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादमा मनिष पाण्डे, केन विलियम्सन, रसिद खान, जेसन होल्डरजस्ता भरपर्दा खेलाडी छन्। हैदराबाद सन् २०१६ को आइपिएल संस्करण विजेता हो। त्यतिबेला उसले फाइनलमा बैंग्लोरलाई नै हराएको थियो।
मुम्बई यो सिजन फाइनल पुगिसकेको छ। मुम्बईले बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्लीलाई हराएको थियो।