
सिमकोट– घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ। मुख्यमन्त्री शाही अनुगमनका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ३ को तोर्पातर्फ गएका थिए।
शनिबार मुख्यमन्त्री शाही हिल्दुम जलविद्युत आयोजनाको अनुगमन गरेर तोर्पा हुँदै लिमाटाङतर्फ जानेक्रममा बाटोमा बेलुका साढे चार बजेतिर घोडाबाट लडेर घाइते भएका हुन्।
घोडाबाट लडेर घाइते भएपछि उद्धारका लागि सिमकोटमा रहेको हेलिकप्टरलाई खबर गरिएको थियो। घाइते मुख्यमन्त्री शाहीलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्याउने भनिए पनि हेलिकोप्टरबाट बाहिर ननिकालेरै उनलाई सुर्खेत लगिएको हो।
मुख्यमन्त्री घाइते भएको जानकारी पाएपछि जिल्ला अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेपनि मुख्यमन्त्रीलाई प्राथमिक उपचार नगरी सुर्खेत लगिएको अस्पताल स्रोतले जानकारी दियो।
मुख्यमन्त्री शाही सामान्य घाइते भएको भनिए पनि स्वास्थ्य अवस्थाको बारेमा थप जानकारी दिइएको छैन। घटनास्थल सदरमुकाम सिमकोटबाट तीन घण्टा पैदल दूरीमा पर्छ। उनी दुई दिनदेखि हुम्लामा थिए।