
सिमकोट – हुम्ला कै दुर्गम बस्तीमा पर्ने नेक्पा बस्तीमा बर्सेनि खरका छाना विस्थापन हुने क्रम बढेको छ। स्थानीयको मुख्य आम्दानीको श्रोत जडिबुटी संकलनबाट कमाईमा बृद्धि हुँदा खरका छाना विस्थापन भएका हुन्।
स्थानीय बासिन्दाहरुले अब घरको छानो जस्तापाताले छाउन थालेका छन्। चंखेली गाउँपालिका वडा नम्बर ५ को नेक्पा बस्तीमा यसअघि घरमा छाउने गरिएका खरका छाना विस्थापन हुने क्रम जारी रहेको स्थानीय बुद्धी तामाङले बताए ।
जडिबुटी संकलनले आम्दानी बढपछि जस्तापाताका छाना छाउन सफल भएको उनले बताए। सिजनमा घरका काम गर्न सक्ने सबैजना जडिबुटी संकलन गर्ने जाने गरेका छन्।
अर्का स्थानीय भीम तामाङले पनि जडिबुटीकै कमाईबाट घरको छानो फेर्न सकिएको बताए। उनको परिवारले वर्षमा जडिबुटीबाट मात्र १२ देखि १५ लाख कमाई गर्ने गरेको छ।
हालसम्म मोबाइल सेवाको समेत पहुँच पुग्न नसकेको नेक्पा गाउँमा आम्दानीमा आएको बृद्धिसँगै आधुनिकता समेत भित्रिन थालेको छ। घरको आम्दानी राम्रो हुने भएपछि पढे लेखेका युवायुवती पठन पाठनकै लागि सदरमुकाम सिमकोट र जिल्ला बाहिर पनि जान थालेका छन्।
खरका छाना विस्थापन भएसँगै आगलागी र चोरीको समेत चिन्ता हटेको स्थानीय बासिन्दाले बताएका छन्। वडाध्यक्ष भैरव तामाङले पनि नेक्पामा परिवर्तन ल्याउन जडिबुटीको कमाई महत्वपूर्ण रहेको बताए।
६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरीमा दुई वर्षमा खरका छाना हटाएर जस्तापाता छाइएको छ। वर्षमा एक परिवारले कम्तीमा पनि जडिबुडीबाटै सात देखि आठ लाख कमाई गर्र्न गरेका छन्।