
नेपालगञ्ज– आगामी मंसिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’का विजेता नेपालको तर्फबाट ओलम्पिकमा छनौट हुने भएका छन्।
कोरोना भाइरसका कारण आठ महिनादेखि देशभर खेलकुद ठप्प भएको बेलामा क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिन लागेको हो। सो म्याराथन जित्ने खेलाडि जापानमा सन् २०२१ मा हुने ओलम्पिकमा सहभागी हुन पाउने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए।
शाहका अनुसार ‘नेपालगञ्ज म्याराथन’लाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनौटको रुपमा लिइएको छ।
आयोजक क्रियटिभ ह्याण्ड्सले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन सुझाव दिए।
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड, सहप्रायोजक आशीर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले यसपाली दुई वटा मात्रै इभेन्ट सञ्चालन हुने जानकारी दिए। उनका अनुसार ‘फन रन’का रुपमा ‘कर्पोरेट रन’ पनि समावेश गर्ने तयारी रहेको छ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए।
त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन्।