
शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई ४–१ ले स्तब्ध पारेको हो । सुरुमा लिएको अग्रता जोगाउन नसकेर रियल मड्रिड पराजित भएको हो । उसका लागि २३ औँ मिनेटमा करिम बेन्जिामाले गोल गरेर अग्रता दिलाए ।
तर त्यसपछि रियल मड्रिडले चार गोल खायो । भ्यालेन्सियाका लागि कार्लोस सोलेरले पेनाल्टी मार्फत ह्याट्रिक गरे ।
उनले ३५, ५४ र ६३ औँ मिनेटमा पाएको पेनाल्टी गोल गरी ह्याट्रिक गरेका हुन् । त्यसअघि रियल मड्रिडका राफायल भारानेले ४३ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
हारपछि चौथो स्थानको रियल मड्रिडको ८ खेलबाट १६ अंक छ । जित निकालेको भ्यालेन्सिया ९ खेलबाट ११ अंकसहित नवौँ स्थानमा छ ।
ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएका अरु खेलमा रियल सोसिडाडले ग्रानाडालाई २–०, भिल्लारियलले गेटाफेलाई ३–१ तथा रियल भालाडोलिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गर्दा लेभान्टे र एलाभेसले १–१ को बराबरी खेलेका छन् ।