
दाङ–दाङको देउखुरी उपत्यकामा रहेका चारवटा स्थानीय तहले पालिका तहमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन सेन्टर स्थापना गर्ने भएका छन्।
राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द गर्ने र आइसोलेसनलाई पालिका तहमा लैजाने निर्णय भएको छ।
हालसम्म दुई सय ४६ जना यहाँबाट उपचार पाएर घर फर्किएका छन्। अहिले ९ जना संक्रमितको यहाँ उपचार भइरहेको छ। राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार र जग्गा प्रदेश सरकारलाई हस्तान्तरणको प्रकृया सुरु भएपछि यहाँ सञ्चालन भएको आइसोलेसन पालिका तहमा लैजाने निर्णय भएको हो।
देउखुरीमा रहेका चारवटै स्थानीय तहले आ–आफ्नो पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए।
कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमही नगरपालिका उपमेयर देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायत उपस्थित बैठकले सो निर्णय गरेको हो।
राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानीमा सञ्चालन भएको हो।
बैठकले कोरोना विशेष देउखुरी आइसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना संक्रमणबाट बच्नका लागि सबैले सचेतना अपनाउनु पर्ने र यदि जो कोहीलाई कोरोना संक्रमण भएमा चारवटै पालिकाले रेखदेख लाई निरन्तरता दिँदै जाने समेत निर्णय गरिएको छ।