
काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफ्नो लामो खेलाडी जीवन निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलेर मात्र अन्त्य गर्न चाहेको बताएका छन्।
चितवनको भरतपुरमा निर्माणाधीन उक्त रंगशालाको अवलोकन गर्दै पारसले भने, ‘नेपाली क्रिकेटमा यो रंगशालाको विषेश महत्व छ। मेरो खेलाडी क्रिकेटिङ जर्नीको यात्रा यहाँ खेलेर मात्र अन्त्य गर्ने इच्छा छ।’
पारस गत वर्ष राष्ट्रिय टोलीको कप्तानबाट सन्याश लिएर टोलीको सदस्यका रुपमा मात्र सिमित भएका थिए।
रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनका सीताराम कट्टेल ‘धुर्मुस’लगायतसँग कुराकानी गर्दै पारसले रंगशाला निर्माणको प्रगति देखेर प्रसन्नता व्यक्त गरेका थिए। ‘तपाईँहरुले लकडाउनका बेला समेत अहोरात्र खटिएर रंगशाला तयार गर्नु भयो। गरिरहनु भएको छ। सोचेभन्दा राम्रो प्रगति भएको रहेछ’, पारसले भने। धुर्मुसले पारस आइसकेपछि अब रंगशाला तयार भएजस्तै भएको प्रतिक्रिया दिए।
अवलोकनका लागि गएको टोलीमा नेपाल क्रिकेट संघ-क्यानका सदस्य छुम्बी लामा,राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत बागमती प्रदेशका सदस्यसचिव सुर्यलाल भण्डारीलगायत सहभागि थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्र तयार गरिसक्ने लक्ष्य छ। उक्त रंगशालाको छेवैमा नमुना रंगशाला तयार गरिएको छ।