
काठमाडौँ-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेपछि असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा अनौपचारिक सचिवालय बैठकका लागि समय तोकेका छन्।
पार्टी स्रोतका अनुसार तीन दिन कुर्दा पनि ओली औपचारिक बैठकका लागि तयार नभएपछि प्रचण्ड-नेपाल समूहले अनौपचारिक सचिवालय बैठकका लागि समय निर्धारण गरेको हो।
दिउँसो प्रचण्डले ओलीलाई भेट्न जान सक्ने सम्भावना छ। प्रचण्डको अनुरोध अनुसार ओली तयार भएमा औपचारिक बैठक बोलाइने छ। तर ओली त्यसमा सहमत हुने सम्भावना निकै कम देखिएको छ।
यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड-नेपाल समूहको अनौपचारिक सचिवालय बैठक बसेको थियो।
उक्त बैठकबारे सचिवालयका ९ जना सदस्यहरुलाई जानकारी गराए पनि ओली पक्षका तीन जना सदस्यहरु अनुपस्थित थिए।
त्यसको भोलीपल्ट शनिबार प्रचण्ड-नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई औपचारिक सचिवालय बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो।
तर ओलीले त्यसैदिन आफू पनि कार्यकारी अध्यक्ष भएको र गुटीय बैठकले गरेको निर्णय र अनुरोधका आधारमा केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए।
त्यसयता पनि ओली बैठकका लागि सहमत हुने अपेक्षासहित प्रचण्ड-नेपाल समूहले प्रतिक्षा गरेपनि त्यसमा ओली तयार हुने सम्भावना कम देखेपछि आज धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएको हो।
विवाद चर्किँदै गएकाले पार्टी एकता बचाउने गरी निर्णय लिनुपर्ने बाध्यता आफूहरु रहेको यो समूहका सदस्यहरुले बताउँदै आएका छन्।
खासगरी आफ्नो अपमान हुनेगरी बोल्न थालेको र पार्टी स्थायी कमिटी निर्णय उल्लंघन गरेकाले ओलीविरुद्ध चाल्ने कदममा प्रचण्ड संवेदनशील रहेको बुझिन्छ।
ओली र प्रचण्ड-नेपाल समूह पार्टी एकतालाई संकटमा पारेको आरोपप्रत्यारोपमा उत्रिरहेका छन्। राजदूत नियुक्ति प्रकरणबाट नेकपमा उत्पन्न विवाद हाल आएर पार्टीको कार्यकारी अध्यक्ष को हो भन्नेसम्ममा पुगेको छ।
गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्वक कार्यान्वयनमा समस्या आएको भन्दै ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार तोकेको थियो।
कमिटी बैठकले ओली आगामी प्रतिनिधिसभाको कार्यकालभरी प्रधानमन्त्री भएर सरकारको कामकारवाहीमा केन्द्रित हुने, प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको कामकारवाहीमा केन्द्रित हुने निर्णय भएको थियो।
तर काम गर्दा एकअर्कासँग समन्वय गर्नुपर्ने भनिएकोमा ओलीले एकलौटी ढंगबाट काम गर्न थालेपछि प्रचण्ड-नेपाल समूह असन्तुष्ट बन्दै गएको हो।
तर पार्टी प्रवक्ता श्रेष्ठका अनुसार तीन बजेपछि मात्रै पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाउने भन्नेबारे निष्कर्ष निस्कने बताएका छन्।
उनले अहिले नै आफू समय भन्न असमर्थ रहेको बताए। उनले भने, ‘हामी आन्तरिक छलफलमै छौँ। अबको केन्द्रीय सचिवालयको बैठक धुम्बाराहीमै बस्छ। तर समय निर्धारण भइसकेको छैन। तीन बजेपछि निष्कर्ष आउला।’