
मोरङ-विराटनगरमा गएको २४ घण्टामा २ महिला र ९ पुरुष गरि कुल ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१ का ३७ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान साढे १० बजे मृत्यु भएको छ।
उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कार्तिक १७ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनी नेपाली कांग्रेस भातृ संगठन तरुण दल मोरङका सदस्य हुन्।
त्यसैगरि, इटहरी उपमहानगरपालिका ५ की ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान मृत्यु भएको छ। केन्द्रका व्यवस्थापक बस्नेतका अनुसार कार्तिक १३ गते पिसिआर परिक्षण रिपोर्ट पोजिटिभ आएको महिलाको उपचारका क्रममा विहान करिब ८ बजे मृत्यु भएको हो।
बस्नेतले विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि बिहान साढे ७ बजेतिर मृत्यु भएको जानकारी दिए। उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।
अर्कोतर्फ, विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार ५ कोरोना संक्रमितको मृत्यु भएको छ।
नोबेलमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान करिब ८ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८ बजेर २५ मिनेटमा मृत्यु भएको छ।
उनको पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । झापा हल्दीबारी गाँउपालिका ४ का ७० वर्षीय बृद्धको विहान पौने ६ बजे उपचारका क्रममा मृत्यु भएको छ।
कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए। नोबेलमै उदयपुरको त्रियुगा नगरपालिका ३ का २१ वर्षीय युवकको पनि मृत्यु भएएको छ।
कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए। मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान साढे ६ बजेतिर नोबेलमै मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।
विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी गाँउपालिका–२ का ५० वर्षीय पुरुषको सोमबार राति करिब ९ बजेर ५० मिनेटमा मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो।अस्पतालका कोभिड १९ का फोकलपर्सन सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पतालबाहेक दुई जनाको घरमा स्वास्थ्यलाभ गरिरहदाँ मृत्यु भएको छ । विराटनगर महानगरपालिका ३ मा ८९ वर्षीय बृद्धको सोमबार राती घरमै मृत्यु भएको छ । १७ दिन अघि कोराना पुष्टि भएर घरमै स्वास्थ्य लाभ गरिरहेका उनको आइतबार गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए। यद्धपी, बृद्धको सोमबार राती करिब ९ बजे मृत्यु भएको उनले बताए।
त्यसैगरि, मोरङकै सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको पनि आफ्नै घरमा मंगलबार विहान करिब साढे ७ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
मृतकहरुमा ज्वरो, उच्च रक्तचाप, श्वासप्रश्वास, फोक्सो, निमोनिया, मृगौला र मुटु सम्बन्धी पुरानो समस्या रहेको अस्पतालहरुले जनाएका छन्।