
जनकपुरधाम-प्रदेश २ मा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमित हुनेको संख्या १६ हजार १ सय ६६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
बर्दिबाँस कोभिड १९ प्रयोगशाला महोत्तरी र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा बारामा १६, धनुषामा ११, महोत्तरीमा १०, सर्लाहीमा ७, सिरहामा २, सप्तरीमा १ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए । यस सँगै निको हुनेको संख्या १४ हजार ९ सय ४८ पुगेको छ । आज महोत्तरीमा २२, पर्सामा १४ र सप्तरीमा ४ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म यस प्रदेशमा १ सय ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ५०, सप्तरीमा ३१, सिरहामा २१, धनुषामा १९, बारामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हाल यस प्रदेशमा १ हजार ३७ जना सक्रिय संक्रमित रहेका छन् ।