
काठमाडौँ- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न मंगलबार बालुवाटार पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल आधा घन्टा पनि नबित्दै बाहिरिए।
प्रधानमन्त्री ओलीले उनलाई नरम शैलीमा कडा धम्की दिएका थिए, यसपटक। ओलीलाई जानकारी गराएर केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्ने दाहाल पक्षको तयारी भए पनि प्रधानमन्त्री ओलीको धम्कीले उनीहरु पछि हट्न बाध्य भएका छन्।
बालुवाटारमा ओली असहमत भए दाहालले नेकपा केन्द्रीय सचिवालयको औपचारिक बैठक बोलाउने बताएपछि केपी ओलीले नरम भाषामा कडा धम्की दिए- ‘बैठक बसेर तपाईँहरु के गर्नुहुन्छ? तपाईँहरुले मबिरुद्ध एक्सन लिनुभयो भने म तपाईँहरुबिरुद्ध पनि महाएक्सन लिन्छु।’
प्रधानमन्त्रीसँग करिब आधा घन्टा भेटेर बाहिरिएका दाहालले त्यसपछि पार्टी मुख्यालय धुम्बाराही पुगेर केन्द्रीय सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठक गरेका थिए।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन सहमतिका लागि दुई दिनको समय दिएका थिए।