
विराटनगर – बितेको १२ घण्टामा मोरङमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, विराटनगर शिक्षण अस्पतालमा एक र अर्का एकजनाको घरमै मृत्यु भएको हो।
नोबल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका ३ की ४० वर्षीया महिलाको बिहीबार बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो।
त्यसैगरि, सोही अस्पतालमा झापा गौरादह नगरपालिका २ की ४९ वर्षीया महिलाको बिहान ८ बजे मृत्यु भएको छ ।
बिहीबार विहान नै रंगेली नगरपालिका ८ का एक पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
बिहीबार नोबेलमा भएको यो तेस्रो मृत्यु हो। रंगेलीका ५५ वर्षीय पुरुषको बिहान ७ बजेर ३० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको दाहालले जानकारी दिए।
त्यसैगरि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा झापा दमक ६ की ४६ वर्षीया महिलाको बुधबार राती उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको घरमा स्वास्थ्यलाभ गरिरहेको अवस्थामा बुधबार राति मृत्यु भएको छ ।