
काठमाडौँ-अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ।
अमेरिकामा भएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतको हाराहारी देखिएको मोदेर्नाले जनाएको हो । यसअघि फाइजरले बनाएको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको हप्ता दिन पहिले खबर सार्वजनिक भएको थियो ।
तेस्रो चरण अर्थात बिस्तारित तहको मानवीय परीक्षणमा कोरोना भाइरस विरुद्ध सम्भावित खोपहरु सुरक्षितसँगै प्रभावकारी सावित भएपछि विश्वभर आश पलाएको छ।
मोदेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएसँगै विश्वलाई ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारी प्रभावकारी विकल्पको आश पलाएको हो।
फाइजर र मोदेर्ना दुवैले खोप विकासका लागि विल्कुल नयाँ र प्रयोगात्मक विधि अपनाएका हुन्। मोदेर्नाले खोप प्रभावकारी देखिनु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्ता मै थाल्ने उल्लेख गरेको छ।
तेस्रो चरणको मानवीय परीक्षणको प्रारम्भिक नतिजा मात्रै भएकाले अझै थप स्पष्ट हुन भने बाँकी रहेको छ। अमेरिकामा परिक्षणमा सहभागी भएका ३० हजार मानिसमध्ये आधालाई खोपका दुई डोज चार हप्ताको फरकमा दिइएको थियो । बाँकी आधालाई डमी खोप दिइएको थियो।
९५ जनाको नतिजाको विश्लेषण गरिएको हो । कोरोना भाइरसको संक्रमण देखिएका मध्ये मात्रै पाँचजना खोप दिइएका रहेको र अरु ९० जना डमी खोप दिइएका मानिस रहेको मोदेर्नाले जनाएको छ।
यसरी हेर्दा खोपले ९४.५ प्रतिशत मानिसलाई संक्रमणबाट रोकेको छ । नतिजा अति उत्साहजनक र आशादायी रहेको मोदेर्नाका चिफ मेडिकल अफिसरले बताएका छन् ।