
नेदरल्याण्डसलाई पछि पारेर इटाली युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुगेको छ ।
समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरे पनि फाइनल्समा स्थान बनाउन सकेन ।
नेदरल्याण्डसका लागि ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेम्फिस डिपे तथा ८४ औँ मिनेटमा जर्जिनिओ विनाल्डमले गोल गरे । त्यसअघि पोल्याण्डका लागि पाँचौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको सहयोगमा कामिल जोज्विकले गोल गरेका थिए ।
जितपछि नेदरल्याण्डसको ११ अंक भयो । तर बुधबार राति नै भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गरेको इटाली एक अंकले अघि रहँदै फाइनल्समा स्थान बनाउन सफल भयो ।
अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहन सफल भयो ।
नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा कोसोभोले माल्डोभालाई १–०, चेक गणतन्त्रले स्लोभाकियालाई २–०, इजरायलले स्कटल्याण्डलाई १–०, हंगेरीले टर्कीलाई २–० तथा सर्बियाले रुसलाई ५–० ले पराजित गरेका छन् ।
यस्तै अस्ट्रिया र नर्वे तथा उत्तरी आयरल्याण्ड र रोमानियाले १–१ तथा ग्रिस र स्लोभेनियाले गोलरहित बराबरी खेलेका छन्।