
नेपालगञ्ज – बाँकेमा कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु बाँके र बाहिरी जिल्लाबाट उपचार गराउन आएका हुन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँकेमा ३७ र बाहिरी जिल्लाका ४४ जनाको मृत्यु भएको छ । जिल्ला अनुसार छुट्याउदा बाहिरी जिल्लामा दाङका धेरै छन् ।
जिल्लाका दुई ठूला अस्पतालहरु भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा कोरोनाको उपचार गराउन आउदा दाङका १८ जनाको मृत्यु भएको छ । बर्दियाका ८ जना, कैलाली र कञ्चनपुरका ४/४ जनाको मृत्यु भएको छ ।
सुर्खेतका ३, दैलेख र अछामका २ जना, र अर्घाखाँची, रुकुम पश्चिम र रोल्पाका एक/एकजनाको मृत्यु भएको छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाका धेरैको मृत्यु भएको छ ।
बाँकेका ३७ जनाको मृत्यु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका २४ जना, कोहलपुरका ७ जना, खजुराका दुई जना र बैजनाथ, राप्तीसोनारी, जानकी, नरैनापुरका एक/एक जनाको मृत्यु भएको छ ।
१९ जना भेरीमा, १६ जना कोहलपुर मेडिकल कलेज, एकजना नरैनापुर क्वारेन्टाइन र एकजना होम आइसोलेसनमा मृत्यु भएको थियो ।
यसैबीच, शुक्रबार १६ जना डिस्चार्ज भएका छन् । ८ जना महिला र ८ जना पुरुषले कोरोनालाई जितेका छन् । कात्तिक २५ गते कोरोना पुष्टि भएका उनीहरु शुक्रबार डिस्चार्ज भएका छन् ।