
वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको एक महिना बितेको छ । नेकपा कार्यकर्ताहरुबीच भिडन्त हुँदा चौरासियाको मृत्यु भएको थियो।
कार्तिक ६ गते पर्साको बिन्दबासिनी गाउँपालिका स्थित प्रसौनीमा नेकपा बिन्दबासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि चौरसिया गम्भीर घाइते भएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे।
बिन्दबासिनी गाउँपालिका २ बहुअर्वा टोल निवासी चौरसिया नेकपा गाउँपालिका कमिटिका सचिव समेत थिए । टाउकोमा बाँसको भाटाले प्रहार गरेर हत्या गरिएका चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य एवं नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । तर, घटना भएको एक महिना बित्दासमेत प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गर्न सकेको छैन।
चौरसियाको हत्यामा संलग्न रहेका मध्ये सभासद गुप्तासहित ९ जना हालसम्म पनि फरार रहेको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी मनोजित कुँवरले जानकारी दिए।
उनले घटनामा संलग्न तीन जना मात्रै पक्राउ परेका तथा सभासद गुप्तासहित ९ जना हालसम्म पनि फरार रहेको बताए । उनले प्रहरीले फरार रहेका गुप्तासहित अन्यको खोजी तीव्र पारिएको बताए।
चौरसियाको हत्यामा संलग्न रहेका बिन्दबासिनी गाउँपालिका निवासी देवा सहनी, शोकदीन गदी र उत्तम भनिने निरञ्जन तिवारी गरी तीनजनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ।