
झापा- पछिल्लो समय नेपालमा लागुपदार्थ कारोबार तथा प्रयोगकर्ताहरुको डरलाग्दो तथ्यांक देखा पर्न थालेको छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार लागुपदार्थको कारोबारी र दुर्व्यसनीको अहिलेसम्म ‘अनियन्त्रित’ संख्या देखापरेको हो।
प्रहरीमा उपकरण तथा जनशक्ति अभाव, जनचेतनाको कमीका कारण लागुपदार्थको पछिल्लो रुप देखापरेको नेपाल प्रहरीका अधिकारीहरु बताउँछन्।
लागु पदार्थ दुर्व्यसनविरुद्ध काम गरिरहेका संस्थाहरुले सरकारसँग लागुपदार्थ दुर्व्यसनविरुद्ध काम गर्ने योजना नै नरहेकाले वर्तमान परिस्थिति सिर्जना भएको बताउँछन्।
झापा मुख्य थलो बन्दै
देशका अन्य नाका भन्दा झापाको काँकरभिट्टा नाका लागुपदार्थ कारोबारको मुख्य थलो बन्न थालेको तथ्यांकले पुष्टि गर्छ।
नेपालका प्रहरीले पक्राउ गरेका लागुपदार्थ बोक्ने मान्छे र बरामद गरेका लागुपदार्थको तथ्यांक हेर्दा पूर्वी नाका लागुपदार्थको कारोबार दिनहुँ बढ्दो क्रममा रहेको देखिन्छ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशभर गरिएको लकडाउन भएयताका केही महिना लागुपदार्थको कारोबार नियन्त्रित जस्तो देखिएको थियो। गत चैत महिनामा झापामा २२ ग्राम ब्राउन सुगरसहित १३ जना मानिस पक्राउ परेका थिए।
वैशाखमा १२८ ग्राम ४५० मिलीग्राम ब्राउन सुगरसहित ७ जना पक्राउ परे। जेठ महिनामा १०४ मिलीग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीको तथ्यांक अनुसार गत असार महिनामा ९२ ग्राम ३२२ मिलीग्राम ब्राउनसुगर तथा अन्य नशालु औषधिसहित ११ जना मानिस पक्राउ परेका थिए।
साउन महिनामा ६३ ग्राम ब्राउनसुगर, गाँजा तथा नशालु औषधिसहित १८ जना पक्राउन परेका थिए।
त्यस्तै भदौ महिनामा ८५ ग्राम ५०६ मिलीग्राम ब्राउनसुगर, गाँजा तथा नशालु औषधिसहित १३ जना पक्राउ परेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
असोजमा ३७२ ग्राम ९४० मिलीग्राम र कात्तिकमा ४२ ग्राम २०० मिलीग्राम ब्राउनसुगर तथा अन्य नशालु पदार्थसहित क्रमशः १३ र २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नाका बन्द रहेका बेला पनि गत चैतदेखि कात्तिकसम्म १०२ जनालाई लागुपदार्थसहित झापाबाट पक्राउ गरेर मुद्दा चलाएको छ।
लागुपदार्थ भित्रिने प्रमुख चार नाका
नेपाल प्रहरीका अनुसार नेपालमा लागुपदार्थ भित्रिने प्रमुख चार नाका रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेको प्रहरीका अधिकारीहरु बताउँछन्।
विभिन्न मुलुकबाट नेपालमा लागुपदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
त्यसका अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागुपदार्थ अन्य नाकाहरुबाट नेपाल भित्र्याउने गरिएको ब्यूरोले जनाएको छ।
दिनहुँ पक्राउ
खुल्ला सीमाको फाइदा उठाउँदै काँकरभिट्टा नाका हुँदा नेपाल भित्र्याइँदै गरेका लागुपदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ।
जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको विवरणमा लागुपदार्थ कारोबारी तथा सेवनकर्ता प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन्।
पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ बर्ष उमेर समूहका रहेका छन्।
विगतमा खुल्ला रुपमा खरिद/बिक्री गर्न नपाइने औषधिजन्य बस्तुको लुकिछिपी कारोबार हुने गरेकोमा अहिले आएर ब्राउनसुगर, गाँजा जस्ता बस्तुको कारोबार ह्वात्तै बढेको देखिन्छ।
ब्राउनसुगर र गाँजाको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका बस्तुहरुको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ।
तर जति लागु पदार्थको प्रयोग र करोबार बढ्दै गएको छ त्यो भन्दा ज्यादा नियन्त्रणका उपायमा जनशक्ति अभावका कारण लाग्न नपाएको प्रहरी अधिकारी बताउँछन्।
लागुपदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरु बताउँछन्।
बर्षेनी लागुपदार्थ दुर्व्यसनमा संलग्न हुने व्यक्तिहरुको संख्या बढ्दा पनि सरकारको आँखा विशेष रुपले त्यस क्षेत्रमा पर्न नसकेको लागुपदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्ने संस्था नार्कोनन् नेपालका प्रमुख वसन्तराज कुँवरले बताए।
उनले भने, ‘अहिलेसम्म ज-जसले खाएका छैनन् तिनीहरुलाई खान दिनु भएन। त्यसपछि खाने मान्छे चिनेर उनीहरुको उपचार र पुनर्स्थापना गर्नुपर्छ।’
यी विषयमा सरकारले काम गर्नुपर्ने कुँवर बताउँछन्।
उनले भने, ‘प्रहरी कारबाही चाहिँ अन्तिम विकल्प मात्र हो। त्यसले मात्र लागुपदार्थ दुर्व्यसनको वर्तमान स्थितिमा सुधार हुँदैन।