
मोरङ– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमुना परिक्षण गराएका ७२ वर्षीय प्रमुख अधिकारीको बेलुका रिपोर्ट पोजिटिभ आएको हो।
प्रदेश प्रमुखका सचिवालय सदस्य खेमराज अधिकारीका अनुसार शुक्रबार राति अधिकारीलाई कोरोनो संक्रमण पुष्टि भएको हो।
प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एकजना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ। संक्रमण देखिएसँगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्।
प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर बिहीबार विराटनगर फर्किएका थिए। पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ।
यसअघि प्रदेश १ मा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेमा समेत संक्रमण पुष्टि भएको थियो। यद्यपि दुबैजना निको भएर दैनिकीमा फर्किसकेका छन्।