
स्पेनिस ला लिगा फुटबल अन्तर्गत महत्वपूर्ण खेलमा रियल मड्रिड पराजित भएको छ भने उसका महत्वपूर्ण खेलाडी इडन हजार्ड चोटग्रस्त भएका छन् ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा एलाभेसले रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो । उसका लागि लुकास पेरेज र जोसेलुले एक–एक गोल गरेका हुन् । रियल मड्रिडका लागि खेलको अन्तिमतिर कासेमिरोले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
यो सिजन मात्रै चौथो खेलमा सहभागी भएका हजार्ड २८ औँ मिनेटमा चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए । उनी सन् २०१९ मा चेल्सीबाट रियल मड्रिड गएका हुन् । उनले अहिलेसम्म मात्रै २७ खेलमा सहभागिता जनाएका छन् रियल मड्रिडबाट ।
लगातार तीन खेलमा जित बिहीन बनेको जिनेदिन जिदानको टिम रियल मड्रिड १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ ।
शनिबार राति नै भएको खेलमा भ्यालेन्सियालाई १–० ले पराजित गरेको एथ्लेटिको मड्रिडले शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ९ खेलबाट २३ अंक भएको छ ।
अरु खेलमा सेभिल्लाले हुएस्कालाई १–० ले हराउँदा काडिज र एल्चीले १–१ को बराबरी खेलेका छन् ।