
शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजी बोर्डक्ससँग २–२ को बराबरीमा रोकिएको हो ।
पिएसजीका लागि नेइमार र केनले गोल गरे । बोर्डक्सका लागि एड्लीले गोल गरे भने पिएसजीका पेम्बेलेले आत्मघाती गोल गरे ।
बराबरीपछि पनि पिएसजी शीर्ष स्थानमै छ । उसको १२ खेलबाट २५ अंक भएको छ । शनिबार राति नै भएको खेलमा नान्टेसलाई ३–१ ले पराजित गरेको मार्सेइली २१ अंकसहित तेस्रो स्थानमा रहेको छ ।