
आर्सनलले सन् १९८१ यता पहिलो पटक इंग्लिस प्रिमियर लिगमा खराब सुरुवात गरेको छ । १० खेलबाट १३ अंक जोडेको आर्सनल १४ औँ स्थानमा रहेको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल वुल्भ्ससँग २–१ ले पराजित भएको हो । वुल्भ्सका लागि नेटो र कास्टेलो पोडेन्सीले गोल गरे । आर्सनलका लागि डोस सान्तोस मागाल्हाइजले एक गोल गरेका हुन् ।
यो खेलमा वुल्भ्सका स्ट्राइकर राउल जिमिनेज आर्सनलका डिफेन्डर डेविड लुइज दुर्घटनाबस ठोक्किए । उनीहरुको टाउको ठोक्कियो, जिमिनेज बेहोस भए ।
त्यसपछि अस्पताल लगिएका उनको अहिले होस आएको छ । २९ वर्षका जिमिनेजलाई बेहोस भएपछि मैदानमा अक्सिजन दिइएको थियो । खेल झण्डै १० मिनेटका लागि रोकियो ।
३३ वर्षे लुइज टाउकोमा ब्याण्डेज लगाएर पहिलो हाफमा खेले । त्यसपछि दोस्रो हाफमा मैदान बाहिर आए ।