
झापा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको विवादले जिल्ला तहका भातृ संगठनमासमेत देखा पर्न थालेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ता एक–आपसमा दोषारोपण गर्न थालेका छन्।
अनेरास्ववियु झापाको एकता घोषणासँगै विवाद सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटि घोषणासँगै व्यापाक असन्तुष्टि रहेको छताछुल्ल भएको हो।
अनेरास्ववियुको झापा जिल्ला कमिटी नयाँ बनाउँदा प्रचण्ड निकटका कार्यकर्ताले असहमति जनाएका छन्।
विद्यार्थी नेता सन्दीप प्रसाईले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । उनले ओली पक्षधरले आफ्नो अनुकुलतामा कमिटि घोषणा गरेको आरोप लगाएका छन् ।
अनेरास्ववियुकै अर्की कार्यकर्ता पूजा खुशीले जिल्लाको कमिटि घोषणामा आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, ‘झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय।’
मेची क्याम्पसका विद्यार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफू खुशी घोषणा गरेको नयाँ कमिटि अस्वीकार गर्ने बताएका छन् ।
अनेरास्ववियु झापाका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विद्यार्थीहरुलाई नयाँ कमिटिमा ‘बाइपास’ गरिएको बताए।