
मोरङ-सरकारले निर्माण गर्ने आधारभूत अस्पताल मध्ये मोरङका ८ वटा स्थानीय तहमा सोमबार अस्पतालको शिलान्यास गरिएको छ।
जिल्ला अस्पताल सरहको निर्माण हुने आधारभूत अस्पताल सुनवर्षी नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ्ग, जहदा, बुढीगंगा र केराबारी गाउँपालिकामा शिलान्यास गरिएको हो।
केराबारी गाँउपालिकाका प्रमुख रोहित कार्कीले अस्पताल निर्माण हुदाँ उत्तरी मोरङका जनता लाभान्वित हुने बताँउछन् । अस्पताल शिलान्यास गर्दै कार्कीले मोरङको पहाडी र विकट क्षेत्र सिंहदेवी, भोगटेनी, जेफाले लगायतका विकटका जनताको स्वास्थ्य उपचारमा सहजता हुने जानकारी दिए।
२ वर्षमा अस्पतालको निर्माण हुने लक्ष्य राखिएको बताएका प्रमुख कार्कीले अस्पतालका लागि संघीय सरकारले १ करोड बजेट उपलब्ध भएको उल्लेख गरे। काम गर्दै जानेक्रममा बाँकी रकम आउने बताउदै उनले अस्पताल निर्माणका लागि कुल १८ करोड खर्च लाग्ने जानकारी दिए। केराबारी गाँउपालिकामा करिब ४० हजारको जनसंख्या रहेको छ।
केन्द्र सरकारको योजना अन्र्तगतको अस्पताल निर्माणमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निर्वाचित क्षेत्र मोरङको क्षेत्र नम्बर ३ मा सर्वाधिक ३ वटा अस्पताल निर्माण हुने भएको छ। सो क्षेत्र अन्तर्गत कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको हो।
सो क्षेत्रबाट नेपाली कांग्रेसका सुनिल शर्माले मन्त्री ढकालसंग निर्वाचनमा स्पर्धा गरेका थिए। शर्मा स्वास्थ्य क्षेत्रमा आवद्ध छन्। स्थानीय राजनीतिक विश्लेषकको बुझाईमा आगामी निर्वाचनलाई मध्यनजर गर्दै मन्त्री ढकालले आफ्नो क्षेत्रमा तीनवटा अस्पताल निर्माण गर्न लागेका हुन्।
अर्कोतर्फ, बुढीगंगा गाँउपालिकामा १०, र सुनवर्षी नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण हुनेछ। त्यसैगरी, प्रदेश १ मा कुल ८६ वटा अस्पताल निर्माण हुने बताइएको छ।