
काठमाडौँ– उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन्।
संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन्।
उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन्।
महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए। यसरी दुई सरकारबाट कर असुली गर्नु कानुन विपरित भएको उनको भनाइ छ।
यस्तै देशको आर्थिक विकासमा कतिपय कानुनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए।
त्यसका लागि कुन–कुन कानुनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे।
रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न उनले सुझाव दिएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए।
निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौँ भन्ने कुरा सरकारले राम्रोसँग बुझेको उनको भनाइ छ।
कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीतिमार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए।