
१.
मिल्छु मिल्दिनँ
पछि कुरा गरौँला
बाटो फेरौँला !
२.
दोबाटो आयो
आफ्नै घर जाने कि !
भतेर खाने?
३.
भोक त लाग्यो
परिकार सुगन्ध
छिमेकी लोभ्यो !
४.
छिमेकी नासो
बिरयानी र सोया
एउटै भाँडो !
५.
भाँडा फुट्दैछन्
घाँडा रजौटाहरू
साँढा शासक !
६.
शासकहरू
ढोलक बजाउँदै
आफै तर्सिँदै ।
७.
किन तर्सेको ?
नासो फर्काउने कि!
श्रीपेच लाउने ?
८.
धेरै भा’छैन
भित्ताको प्रतिध्वनि
हिमाल झस्क्यो !
९.
झस्केको क्षण
दक्षिणी हावाहुरी
सागरबाट ।
१०.
सागर हेप्छ,
गहिराइको गर्व
अग्लाइ-ईर्ष्या !