
वीरगञ्ज– वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरुको पनि कोरोना बीमा गरिदिन माग गरेका छन्।
शनिबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा वीरगञ्ज ३० लालपर्सा टोलमा आयोजित कार्यक्रममा उनीहरुले आफूहरुको पनि कोरोना बिमा गर्न माग गरेका हुन्।
कार्यक्रममा महानगरका ६ वटा वडाका ५४ जना स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो। उनीहरुले कोरोना महामारीको बेलामा पनि घरघरमा गएर काम गर्नुपर्ने भएकाले आफूहरु कोरोनाको जोखिममा रहेकोले महानगरपालिकाले कोरोना बीमा गरिदिनुपर्ने उनीहरुको माग थियो।
कार्यक्रममा बोल्दै वडा नम्बर ३२ रामबनकी स्वास्थ्य स्वयंसेविका पार्वती त्रिपाठीले आफूहरुले निःशुल्क रुपमा सेवा प्रवाह गर्दै आएको भएपनि कोरोना जस्तो महामारीमा संक्रमित हुने खतरामा आफूहरु रहेकोले बीमा गर्नुपर्ने बताइन्।
उनले महानगरपालिकाले स्वास्थ्य सेवामा खटेका सबै कर्मचारीहरुको कोरोना बीमा गरेपनि आफूहरुको बीमा नगरेको गुनासो गरिन्।
अन्य स्वास्थ्यका कर्मचारी जस्तो आफूहरुले तलबसमेत नपाउने गरेको बताउँदै त्रिपाठीले संक्रमित भएको खण्डमा उपचार गराउन समस्या हुने बताइन्।
‘महानगरपालिकाले सबै स्वास्थ्यका कर्मचारीहरुको कोरोना बीमा गरेको छ,’ त्रिपाठीले भनिन्, ‘हामी स्वयंसेविकाहरु पनि स्वास्थ्य क्षेत्रमै खट्छौँ। हाम्रो बीमा पनि गर्नु पर्यो।’
यस्तै महानगरपालिकको वडा नम्बर २२ मनियारीकी स्वयंसेविका गौरी देवीले पनि घरघरमै पुगेर सेवा दिनुपर्ने भएकाले कोरोना बीमा भए संक्रमणको डर अलि कम हुने बताइन्।