पोखरा- पर्यटकीय शहरको रुपमा रहेको सुन्दर शहर पोखरा लकडाउन र कोभिड भाइरसको जोखिमबाट केही माथि उठे पनि अहिले पनि सुनसान जस्तै छ। कुनै बेला भिडले खचाखच हुने पोखरा अहिले निर्जनझैँ छ भन्दा फरक पर्दैन।
पहिला होटल पाउनसम्म ग्राहो पनि हुने पोखरामा अहिले विदेशी पर्यटक त खोज्नु पर्ने अवस्था छ भने आन्तरिक पर्यटकको केही चहलपहल देखिएको छ। अहिले पोखराका धेरै जसो होटल बन्द छन् भने खुलेका होटलमा पनि बिजनेस छैन।
दुई दशकदेखि होटल व्यवसायमा लागेका रामचन्द्र भटराईको लेकसाइडमा द यात्रा कर्टीयात्रा होटेल एण्ड रिसोर्ट छ। तर उनको होटल चैतको लकडाउनबाट बन्द छ।
सामान्य अवस्थामा ५५ देखि ६० जना कामदार रहेको उनको होटल बन्द हुँदा आफूलाई मात्र नभएर आफ्ना कर्मचारीलाई पनि धेरै कुरामा गाह्रो भएको उनी बताउँछन्।
उनले भने, ‘अहिले त साथीभाइसँग ऋण सापटी गरेर पनि कर्मचारीलाई धेरै-थोरै हेरिरहेको छु। उता बैंकको लोन साहै ग्राहो अवस्था छ। सरकारले ध्यान दिन जरुरी छ।’
केही समय अगाडि सरकारले होटल खोल्न पाउने भने पनि नियमित उडान नखुलेकोले आफूहरु मारमा परेको उनको भनाइ छ। उनले भने, ‘नियमित उडान खोलेको छैन। यस्ता धेरै कुरा छन् जुन होटल व्यवसाय, पर्यटन व्यवसायसँग जोडिएका छन्। त्यसमा पनि सरकारले ध्यान दिन जरुरी छ।’
कुनैबेला यही पोखराका भिडभाड र पर्यटकले भरिभराउ भएका होटल अहिले खुले पनि नखोलेजस्तै अवस्था भएको उनी बताउँछन्। उनले भने, ‘होटल खोल्दा अझ भन्ने हो भने अरु खर्च बढ्छ।अहिले व्यापार छैन। पछिलो समय केहि आन्तरीक पर्यटकहरु देखिन थाल्नुभएको छ। त्यसैले पनि अब हामी आन्तरिक पर्यटकलाई पनि लिएर केहि प्याकेज गर्नुपर्छ।’
उनले चैतदेखि लकडाउन भएपछि आफ्नो होटल बन्द रहे पनि अब केही समयमा खोल्ने तयारी गरिरहेको बताए। तर पनि सरकारले पर्यटन, होटल जस्ता व्यवसाय र नियमित उडानमा ध्यान दिन जरुरी रहेको उनले बताए।
‘त्यसैगरी हाम्रो ध्वजाबाहकलाई पनि प्रबर्द्धन गर्न यसको प्रयोगमा प्याकेज बनाउनेमा ध्यान दिन जरुरी छ,’ उनले भने।
आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न र व्यवसायीहरुलाई राहत प्याकेज ल्याउन सरकारले पहल गर्नु जरुरी रहेको पनि उनले बताए।

रामचन्द्र भट्टराई।
भिडियो पनि हेर्नुहोस्: