
सिमकोट-मुगु जिल्लाका स्थानीय बासिन्दालाई रारा राष्ट्रिय निकुञ्जका वन्यजन्तुले धनमालमा क्षति पुर्याउन थालेका छन्।
घरपालुवा जनावर र बालीनाली खाइदिने तथा धनमालमा क्षति पुर्याइ दिएका कारण रारा ताल क्षेत्रका किसानहरू मर्कामा परेका हुन् ।
जंगली जनावरहरूले कहिले बाली बिरूवा खाइदिने त कहिले फलफूलका बिरूवा नै उखेलिदिने गर्दा किसानहरूको आम्दानी र कृषि निर्भरता जोखिममा परेको छ । निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रमा घाँस दाउरा ल्याउन जाँदा वन्यजन्तुको आक्रमण झेल्दै आएका छन्।
स्थानीयहरूले पाल्दै आएका घरपालुवा जनावर तथा मौरी घारको मह समेत भालु तथा बाघले खाइदिने गरेको छन्। वर्षौंदेखि किसानहरूले गरेको मेहनत क्षणभरमै निकुञ्जका जीवजन्तुले सिध्याइ दिने गरेका छन्। आफूहरूले सकस भोगिरहे पनि सरकारले समस्या समाधानतर्फ ध्यान नदिएको स्थानीय किसान नन्दकली रोकायाले बताइन्।
यस वर्ष पनि मध्यवर्ती क्षेत्रका बासिन्दाले अघिल्ला वर्षमा झैं वन्यजन्तुबाट क्षति व्यहोरिहेका छन्। पछिल्लो पटक शुक्रवार छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका भेडापालक रमेश रावलका ८ वटा भेडालाई खर्क रहेको स्थान चुल्ठीमा हिमाली भालु पसेर मारेको छ। भेडा हेर्ने कुकुर बेपत्ता समेत बेपत्ता भएको छ।
सोहि वडाका भेडा पालक पदम रावलका २४ र घुघुरे कामीका ५ गरी २९ भेडालाई पनि घोरमै पसेर गत ४ गते भालुले मारेको र गत वर्ष पनि भालुले गाउँलेका १५ भेडाबाख्रा मारेको वडाअध्यक्ष कर्णबहादुर रावलले बताए। निकुञ्जले नियमअनुसार जे गरेपनि क्षतीपूर्तीका लागि वडा र नगरपालिकाबाट सिफारिस गरेर निकुञ्जलाई अनुरोध गर्ने उनले जानकारी दिए।
विगतका वर्षमा रारा राष्ट्रिय निकुञ्जले पीडित कृषकहरूलाई क्षतीपूर्ती दिने गरेपनि यो वर्ष नदिने भनेकाले आफूहरू बर्बाद भएको कृषक पदम रावलले बताउँछन् । १३२ घरधुरी रहेको यो गाउँका अधिकांश स्थानीयहरूको प्रमुख आयस्रोत नै भेडापालन हो। तर, निकुञ्जबाट कहिले भालु त कहिले बाघ आएर भेडाबाख्रा खाइदिने र मारिदिने गर्न थालेपछि रोजीरोटी नै गुम्ने जोखिम बढेको किसानहरू बताउँछन्।
स्थिति यस्तै रहे अब पशुपालन व्यवसायबाटै अलग्गिनुपर्ने चिन्ता किसानहरूमा बढेको छ। झयारी गाउँमात्र नभइ जंगली जनावरहरूबाट मध्यवर्ती बस्तीहरू मुर्मा, माथीतुम, ताल्च, टोप्ला, पीना, कार्कीवाडा, तलितुम र बुलबुलेका स्थानीयले समेत सास्ती र हैरानी खेप्दै आएका छन्।
निकुञ्जको जवाफ
नेपाल सरकारले जारी गरेको वन्तजन्तुबाट हुने क्षति सम्बन्धी राहत निर्देशिकामा १३, १४ वटा वन्यजन्तु मध्ये कुनैले अन्नबाली, कुनैले घरपालुवा जनावर र कुनैले मान्छेलाई आक्रमण गरेमा, नष्ट गरेमा वा तहसनहस पारेमा क्षतिपूर्ति दिने व्यवस्था छ।
भालुले मान्छेलाई आक्रमण गरेमा क्षतिपूर्ति दिने व्यवस्था गरिएपनि घरपालुवा जनावर मारेमा या अन्नवाली खाएमा क्षतिपूर्ति दिने प्रावधान नराखेकाले आफूहरूले भालुले क्षति पुर्याएको घरपालुवा जनावर र अन्नवालीको क्षतिपूर्ति दिन नसक्ने रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए।
निर्देशिकाले क्षतिपूर्ति दिने व्यवस्था नगरेपनि विगतमा आफूहरूले मध्यवर्ती क्षेत्र विकास समितिको निर्णय गरेर समितिकै कोषबाट पीडित स्थानीयलाई सामान्य राहत उपलब्ध गराउँदै आएको र यो वर्ष क्षति भोगेका किसानलाई पनि समितिबाट निर्णय गरेर सामान्य राहत दिने दाहालले बताए।