
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफू नेतृत्वको सरकार संवेदनशील हुँदाहुँदै निराधार आरोप लगाएर सरकारको बदनाम गर्न खोजिएको र भ्रमपूर्ण आन्दोलन सुरु भएको बताएका छन्।
अोलीले कतिपय विषयमा नेताहरुले एकअर्कालाई आधारहीन आरोप लगाउँदा त्यसबाट भ्रमहरु सिर्जना भइरहेको र त्यसले मुलुकको राजनीतिक व्यवस्थामाथि नै प्रहार हुन थालेको भन्दै आफ्नो बचाउ गरेका हुन्।
नेपाली कांग्रेसका डा. नेता प्रकाशशरण महतका अनुसार मगंलबार आफूद्वारा आयोजित सर्वदलीय बैठकलाई सम्वोधनका क्रममा उनले भने, ‘सबै दलका नेताहरुको आलोचना,सुझाव र अनुरोधलाई आत्मसाथ गर्न म तयार छु। तर निराधार आरोप लगाउनेको हुल बढिरहेको छ। यसले जनतामा भ्रम सिर्जना गरेको छ र सडक तात्दैछ।’
बैठकमा सामेल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वदलीय बैठकमा प्रधानमन्त्रीका तर्फबाट कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारको प्रयास, चुनौतिसहित मुलुकको समसामयिक विषयमा आफ्नो धारणा राखेको जानकारी दिए।
सर्वदलीय बैठकपछि रिमालले देशसञ्चारसँग भने, ‘प्रधानमन्त्रीले संविधानविरोधी क्रियाकलाप रोक्न सबै एक जुट हुनुपर्छ भन्नेमा पनि जोड दिनु भएको छ। केही स्थानमा हिंसासमेत हुन थालेकाले आफू चिन्तित भएको पनि उहाँले नेताहरुसमक्ष राख्नु भएको छ।’
रिमालका अनुसार सरकारका कमकमजोरी भएमा आलोचना र सुझाव दिने बाटो खुल्ला भएको तर संविधान विरोधी क्रियाकलाप बन्द गर्न सबै दल एक ठाउँमा उभिन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताएका थिए।
रिमालले समय अभावका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मात्रै आफ्नो धारणा राखेको बताए।
बैठकमा नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम सामेल थिए।