
नेपालगञ्ज– चोरीको आरोपमा दुईजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। भारत रुपैडिहाका मोविन अली र सलवान अली चोरी गर्दागर्दै पक्राउ परेको बाँके प्रहरीले जानकारी दिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर भाग्न थालेका उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
यस्तै बाँके प्रहरीले योसँगै अन्य आपराधिक घटनामा संलग्न भएकाहरुलाई पनि सार्वजनिक गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० मा गएराति १२ बजे मदनापुरमा एउटा विवाहमा नाचगान गर्ने क्रममा विवाद हुँदा रमेश बुढाथोकीलाई लाँठी, चिरपट लगायतले कुटपिट गरिएको थियो। प्रहरीले कुटपिटमा संलग्न दिनेश पुरी, धर्म वली, सुरज कुँवर र उमेश घर्तिमगरलाई नियन्त्रणमा लिएको छ।
यस्तै २०६६ कात्तिक २७ गते नरैनापुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेको आरोपमा हेमन्तकुमार शर्मालाई नियन्त्रणमा लिएको छ।
यस्तै घोराहीका दत्तबहादुर नाथ भारतबाट फर्कँदै गर्दा नेपालगञ्जमा रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैयाँसहितको झोला पनि फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ।
यसैगरी बैजनाथकी राधिका विकको हराएको चार लाख रुपैयाँ पनि फेला परेको प्रहरीको भनाइ छ।