
मोरङ-लामोसमयदेखि निर्माणाधीन अवस्थामा रहेको विराटनगर महानगरपालिकाभित्रको केशलिया सडकमा स्थानीयले विरोध गर्दै धर्ना बसेका छन्।
महानगरपालिकाको वडा नम्बर ६ र ११ को सीमा पर्ने केशलिया मार्गको शीघ्र निर्माणको माग गर्दै बुधबार स्थानीय युवा विरोध गर्दै धर्नामा बसेका हुन्।
मोरङहुदै सुनसरीको ग्रामीण बस्ती जोड्ने सडक निर्माणमा सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ।
विराटनगर महानगरपालिकाले निर्माणका क्रममा रहेको सडक सुरुमा हुलाकी राजमार्गमा पर्ने जनाउँदै चासो नदिएको स्थानीय मुकेशकुमार साहको भनाई छ।
हाल महानगरद्धारा निर्माण भइरहेका सबै वडामा सडक निर्माण कार्य सकिसकेको जनाउदै उनीहरुले सुनसरीको ग्रामीण दक्षिण भेगलाई महानगरसंग जोड्ने सडकका विषयमा ध्यान नदिएको गुनासो छ ।
धर्नामा बसेका साहले सडक निर्माणका क्रममा ढिलाई गर्दै गएको हुदाँ आजित भएर आफूहरु सडकमा धर्ना दिन बसेको जानकारी दिए। धर्नाका क्रममा उनीहरुले यत्रतत्र, केशलीया मार्ग अलपत्र भन्दै केहीसमय नारावाजी गरेका थिए।
स्थानीय अक्षय सहनीका अनुसार विगत १० वर्षदेखि निर्माणकै चरणमा रहेको सो सडक निर्माणमा सरकारले बेवास्ता गरेको छ।अहिले सडक हु्लाकी मार्ग अन्र्तगत पर्ने बताएका सहनीले स्थानीय, प्रदेश र मुख्यतः संघीय सरकारले सडक निर्माणमा कुनै चासो नदिएको आरोप लगाए। उनका अनुसार सडक जीर्ण रहदाँ दुर्घटना हुने, धुलोको समस्या अधिक रहेको छ।
स्थानीय गणेश साहले सडकका कारण सर्वसाधारणले धेरै सास्ती बेहोर्नु परेको र जनता जोखिममा परेको गुनासो गरेका छन्। हुलाकी मार्ग अन्तर्गतको सप्तरी–झापा खण्ड हेर्दै आएका आयोजना प्रमुख दीपेन्द्र पाण्डेले विराटनगरको भट्टी मोड मार्गदेखि ३ किलोमिटर पश्चिमबाट मात्र आयोजनाको काम अघि बढ्ने जानकारी दिए। त्यसबाहेक ३ किलोमिटर सडक खण्डको काम विराटनगर महानगरपालिकाले गर्ने उनको भनाई छ।
अर्कोतर्फ विराटनगर महानगरपालिका अन्तर्गत क्षेत्रीय शहरी विकास परियोजनाले भने सो सडक खण्डसँगै बरगाछीदेखि पानीट्यांकीसम्म ३ करोड भन्दा बढी रकम खर्चेर सडक कालोपत्रे गर्ने तयारी गरिएको प्रस्टाएको छ। परियोजनाका व्यवस्थापक भरत न्यौपानेले एडिबीको प्राथमिकतामा नपरेको केशलिया सडक कालोपत्रेको काम सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।