
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) समूह विजेताका रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।
समूह एच अन्तर्गत भएको खेलमा पिएसजीले स्थानबुल बासाक्सहिरलाई ५–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरे । उनले २१, ३८ र ५० औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै केलियन एमबाप्पेले दुई गोल गरे । उनले ४२ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे र ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । स्थानबुलका लागि तोपालले ५७ औँ मिनेटमा एक गोल फर्काए ।
मंगलबार खेलको क्रममा फोर्थ अफिसियलले स्थानबुलका सहयोगी पिएर वेबोलाई रंगभेदी भाषा प्रयोग गरेको भन्दै दुवै टिमका खेलाडीले मैदान छोडेका थिए ।
त्यसपछि बुधबार राति खेल भएको हो । खेल सुरु हुनु पूर्व च्याम्पियन्स लिग एन्थमको क्रममा दुवै टिमका खेलाडी तथा खेल पदाधिकारीले रंगभेदको विरोधमा घुँडा टेकेर विरोध गरे ।
बुधबारको खेलमा जितपछि पिएसजी आरबी लेइप्जिगलाई पछि पारेर समूह एचको विजेता बनेको छ । दुवै टिमको समान १२ अंक भए पनि गोल अन्तरमा पिएसजी अघि छ ।