
कुमार नगरकोटीको नयाँ पुस्तक ‘कल्पग्रन्थ’ को हिजोआज ‘प्रि–बुकिङ’ भइरहेको छ। प्रयोगपरक साहित्य लेखक नगरकोटीले योपल्ट किताबलाई प्रिअर्डर गरेर पाठक समक्ष पुर्याउने घोषणा गरी मङ्सिरबाट बुकिङ खुल्ला गरेका छन्। यो पुस्तक बुकहिल पब्लिकेशनबाट प्रकाशित हुँदैछ। प्रकाशन गृहका अनुसार ७ सय ७७ पृष्ठको यो पुस्तकमा ६३ कथाहरु रहनेछन्। यो पुस्तक चैत १४ मा विमोचन हुने प्रकाशकले बताएका छन्।
परम्परागत रुपमा पुस्तक प्रकाशनको प्रचलन अनुसार प्रकाशन गृहले निश्चित सङ्ख्यामा पुस्तक प्रकाशन गरेर पाठक समक्ष पुग्थ्यो तर नगरकोटीको ‘कल्पग्रन्थ’ लाई पढ्न पहिला नै अर्डर गर्नुपर्ने छ। पाठकले फागुन १ गतेसम्म किताब अर्डर गर्न पाउनेछन्। यो किताब पुस्तक पसलहरुमा उपलब्ध नहुने प्रकाशकले बताएका छन्। कोही बिक्रेताले बिक्री गर्न चाहेमा यही योजनामा सहभागी हुनुपर्ने छ।
लेखाइमा फरक प्रयोग गर्ने नगरकोटीको पुस्तक प्रकाशन र विमोचन पनि फरक प्रवृत्तिमा हुने देखिएको छ। पुस्तकको प्रि-बुकिङ अवधारणा नगरकोटीले किन अवलम्बन गरे, पुस्तकलाई यस प्रकार बजारमा ल्याउन के गरिँदै छ भन्नेबारे नगरकोटीले देशसञ्चारसँग कुराकानी गरेका छन्।
१. पुस्तक प्रकाशनको तयारी कहाँ पुग्यो?
हामीले यो पुस्तक नयाँ तरिकाले ल्याउन खोजिरहेका छौँ। पुस्तक छापिन तयार अवस्थामा छ। बुकिङ जति आउँछ, त्यतिनै पुस्तक छाप्ने भनेर बसिरहेका छौँ। फागुन १ सम्म किताब अर्डर गर्ने समय छ, त्यसपछि पुस्तक छाप्न लगिन्छ। पहिलाको जसरी छाप्ने हो भने सबै तयार छ।
दिल्लीको थोमसन प्रेसमा पुस्तक छापिने हो। त्यसको लागि एक महिना लाग्छ। चैतको १४ गते ‘रिडर’ हरुको हातमा किताब आइसक्छ।
२. पहिलेपहिले छापिनेभन्दा यो पुस्तक छपाइ अनि बिक्रीको प्रक्रिया फरक छ, यो आइडिया कसरी आयो?
यो पुस्तकको मैले जसरी डिजाइन गरेको छु, मेरो सुन्दर किताब निस्कियोस् भनेर सदीक्षा थियो। किताब देख्दा पनि सुन्दर, आकर्षक होस् भन्ने थियो। डिजाइन त्यही अनुसार भएको छ। मेरो इच्छा चाहिँ ५ सय ५५ ओटामात्रै प्रकाशन गर्ने थियो।
यो पुस्तक मेरो लागि एकदमै महत्वपूर्ण छ। मेरो इच्छा अर्को के हो भने यो पुस्तक जुन पाठकले पाउँछ नि, उसलाई नगरकोटीको भन्दा पनि ‘कल्पग्रन्थको विशेष पाठक हुँ’ भन्ने अनुभूत होस्।
मैले मेरो इच्छा प्रकाशकलाई सुनाएँ, उहाँले हुन्छ भन्नुभयो। प्रिमियर बुक्स हो, डिलक्स भइहाल्यो। कागज पनि फरक किसिमको प्रयोग गर्ने मेरो इच्छा थियो। मैले पुस्तकलाई सबै कुरामा फरक बनाउन हरसम्भव प्रयास गरेको छु।
फेरि यो एकपल्ट मात्रै छापिनेछ, दोहोर्याएर आउने छैन। ‘कल्पग्रन्थ’ को पाठक मेरो लागि पनि मूल्यवान अनि महत्वपूर्ण हुनेछन्। यो किताब जसले अहिले किन्छ, ऊसँग मात्रै हुनेछ।
पुस्तक प्रि-बुकिङको अवधारणा बुकहिल पब्लिकेशनका प्रकाशक भूपेन्द्र खड्काले ल्याउनुभएको हो। रोयल साइजका, हार्ड बाउन्ड भएको अनि सबैलाई बाक्सा चाहिन्छ भनेको थिएँ। पोस्टकार्डसहित नयाँ ढाँचामा पुस्तक आउँदैछ, पाठकलाई पनि उपहार पुगेको जसरी पुगोस् भन्ने इच्छा छ। यो पुस्तक ७ सय ७७ पेजको छ। लागत मूल्य नै धेरै लाग्ने देखियो। भित्रको डिजाइन पनि फरक खालको छ।
प्रकाशकले नै ‘बरु प्रि बुकिङ जति आउँछ, त्यति नै छापौँ’ भन्नुभयो। मलाई नयाँ कन्सेप्टमा काम गर्न मनपर्छ, अहिलेसम्म यस्तो चलन आइसकेको पनि छैन, त्यसैले मैले ‘हुन्छ’ भनेर यही अनुसार काम गर्न थालेँ। खासमा बुकिङ त बुकको हुनुपर्ने हो नि त!
हामीले मङ्सिरदेखि फागुनसम्म किताबको बुकिङ खुलाएका छौँ, हेरौँ जति आउँछ। त्यति छाप्छौँ।
३. यो पुस्तकको मूल्य २०२१ रुपैयाँ छ, अलि महंगो भएन?
मैले यो पुस्तक ५ सय ५५ ओटा निकालेर मूल्य २०२० राख्ने सोचेको थिएँ। २०२० ले नेपाल भ्रमण वर्षलाई पनि संकेत गर्छ, पुस्तक यही समयमा निकाल्ने योजना थियो। तर प्रकाशकको नयाँ आइडियाले प्रकाशन अलि पर गयो। खासमा यो पुस्तकको छपाइ लागत नै धेरै छ।
हामीले घोषणा गर्ने बित्तिकै मलाई मेरै पाठकहरुले धेरै प्रश्न गर्नुभएको छ, यो कदमलाई आलोचनात्मक रुपमा पनि हेर्नुभएको छ। सामाजिक सञ्जालमा पनि धेरै कुरा भइरहेको छ। मेरो विचार तपाईँलाई भने नि! मलाई मूल्यचाहिँ छलफलको विषय हुनु नपर्ने हो जस्तो लाग्छ।
हो, हाम्रो बजार, हाम्रो क्रेताको क्रयक्षमता कमजोर छ। तर यो मेरो विशेष पुस्तक हो र मूल्य पनि खासै आत्तिने खालको नहोला। हाड बाउन्डको २ सय पेजको पुस्तकलाई ६ सय रुपैयाँ जति मूल्य पर्न आउँछ।
उहाँहरुलाई यो रेगुलर पुस्तक हो जस्तो लाग्ला तर जब पुस्तक हातमा पर्छ तब मूल्य ठीकै हो भनेर पाठकले बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। आलोचना गर्ने त भइहाल्छन्।
४. कुमार नगरकोटीको लागि ‘कल्पग्रन्थ’ धेरै महत्वपूर्ण छ, तर पाठकले यो पुस्तक किन पढ्ने?
यो किताबमा परम्परागत कथा भन्ने शैली, विशेषगरी आख्यानलाई ‘एक्सपेरिमेन्ट’ गरिएको छ। म जहिले ‘एक्सपेरिमेन्ट’ गर्न मन पराउने मान्छे, कथाहरु यसरी पनि भन्न सकिन्छ भन्ने खोज गरिएको छ। ६ प्रकारमा ६३ ओटा भिन्न स्वरुपका कथाहरु छन्। ‘टाइपोग्राफिक स्टोरी’ २ सय ५० पेजको छ। यसमा १ पेजका कथाहरु पनि छ। मलाई लाग्छ, यो नयाँ तरिका छ जसले पाठकहरुको कल्पनाशक्ति पनि बढाउला।
यसमा अर्को भनेको ग्रे स्टोरिज, पोस्ट कार्ड स्टोरिज भन्ने छ, जसमा हुलाकको टिकटको स्ट्याम्पहरु पनि छ। विशेषगरी कथा भन्ने तरिकाको नयाँ सम्भावना हेर्न खोजिएको हो।
५. प्रि-बुकिङ सिस्टममा पुस्तक छापिएपछि यदि कल्पग्रन्थ पढ्नैपर्ने किताब रहेछ भनेर मलाई कसैले सुझाव दियो भने मैले पढ्न नपाउने भएँ नि त!
जानकारीको लागि ४ महिना राखिएको छ नि त!
खासमा हामीले प्रि-बुकिङ कन्सेप्टबाट नयाँ चलनलाई प्रयोग गर्न खोजिरहेका छौँ। यो पुस्तक प्रकाशन भएपछि आउने समयसम्म पाठक पुस्तकका सबै कामहरुसँग जोडिइराखेको हुनेछन्। किताब लिने प्रक्रिया सेलिब्रेसन जस्तो होस्।
परम्परागत रुपमा हाम्रो पुस्तक किन्ने तरिका कस्तो छ भने केही पैसा लिएर बुक सप जान्छौ, किताब हेछौँ, सुँघ्छौँ वासनासहित, किताब बोकेर आउँछौँ। कल्पग्रन्थको सवालमा भने पाठकले ईसेवाबाट भए पनि, आइएमईबाट, हातले पैसा तिरेर भए पनि पुस्तक लिन्छ। ठाउँठाउँमा हामीले कलेक्शन सेन्टर राखिदिएका छौँ। किताब किन्ने अनुभव पाठकलाई पनि राम्रै होला। किताब पनि हामी दैलोमा नै पुर्याउँछौँ।
६. तपाईँलाई यो पुस्तकको कति अर्डर आउँछ जस्तो लागेको छ त?
मैले लेखेका पुस्तकमध्ये सबैभन्दा धेरै छापिएको पुस्तक ‘मिस्टिका’ हो, यो पुस्तक १० हजारप्रति छापिएको छ। मेरो रहर त ‘कल्पग्रन्थ’ त ५ सय ५५ पिस मात्रै छापियोस् भन्ने थियो, हेरौँ जति आउँछ।
७. पुस्तक पसलेहरु रिसाउँदैनन् त?
पुस्तक पसलेहरुको नियमित ग्राहक हुन सक्छन्। पुस्तक पसले पनि यो प्रक्रियामा सहभागी हुन सक्छन्। हामीलाई पुस्तक पसलेले पनि लिस्ट दिन्छन्। मात्रै पसलमा ठाउँ ओगटेर बस्दैन। कलेक्सन सेन्टर त पुस्तक पसल नै हो। हामी सबैलाई सहज बनाउन प्रयास गरिरहेका छौँ।
८. किताबको कारोबार पनि प्रस्ट रुपमा नै हुने भयो, हैन त?
म अलिकति किताब व्यवसायको कुरा गर्छु, यो एकदमै अप्रत्याशित व्यापार हो। यति जान्छ, चल्छ भन्ने ग्यारेन्टी हुँदैन। मेरो इच्छालाई अहिलेलाई थाती राखौँ।
प्रकाशकको आँखाबाट भनौँ,
प्रकाशकलाई लाग्छ, यो लेखकको पुस्तक प्रकाशन गर्यो भने बिक्री हुन्छ। त्यसैले ५ हजार या तलमाथि पिस छाप्छ, तर आँकलन गरिएका भन्दा धेरै कम मात्रा पुस्तक बिक्री हुन्छ। अरु बाँकी गोदाममा थन्किन्छन्।
उसले त्यो ५ हजार पुस्तकमा गरेको लगानी ऋण गरेको हुन सक्छ। अब थन्किएर बसेको पुस्तकको लागतमा अरु दुई लेखकको पुस्तक छापिन सक्थ्यो नि!
प्रि-बुकिङले यो कुरामा फाइदा होला।
यसरी गर्दा प्रकाशकलाई पैसाको भार पनि भएन। किनकि किताब छापिने रकम पहिला नै जम्मा भइसक्छ। लगानी सुरक्षित हुन्छ।
अर्को कुरा,
लेखक र प्रकाशकको बिचमा धेरै ठाउँमा अविश्वासको वातावरण छ। लेखकले आफू ठगिएको महसुस गर्छ। किनकि लेखकलाई प्रकाशकले छापिएको पुस्तकको वास्तविक सङ्ख्या भन्दैन जस्तो लाग्छ। अग्रिम बुकिङले यो समस्यालाई पनि समाधान गर्न सकिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा,
लेखकले परिश्रम लगाएर आफ्नो कल्पना क्षमता लगाएर लेख्छ। प्रकाशकले आफ्नो सम्पत्ति धितो राखेर भएपनि लगानी गर्छ। अनि साइडमा बसेको छ, डिस्ट्रिब्युटर्स! उसले केही गरेको छैन, फोकटमा ४० प्रतिशत खाइरहेको छ।
किताब यताबाट उता गरेबापत पाइराखेको छ। लेखकले १० देखि बढीमा २५ प्रतिशत पाउँछ। कतिपय लेखकले आफैले पैसा दिएर पुस्तक छाप्न लगाउनुपर्ने अवस्था छ। तर बिचौलियाले ४० प्रतिशत पाइरहेको छ। त्यसैले मेरो पुस्तकलाई पाठकसम्म पुर्याउनका लागि ‘नो डिस्ट्रिब्युटर्स प्लिज।’यो पुस्तक सिधै पाठकसम्म पुग्छ।
९. अन्त्यमा!
पछिल्लो १०, १२ वर्षमा मात्रै नेपालमा फाइनप्रिन्ट, बुकहिल, नेपालयजस्ता पब्लिकेशन हाउस खोलिसकेपछि राम्रा पुस्तक भेटिन थालेका हुन्। नत्र भने विदेशी पुस्तकको अगाडि नेपाली पुस्तक देखाउन पनि लाज मर्नु हुने खालका थिए। विषयवस्तु असाध्यै सुन्दर भएपनि प्याकेजिङ नभएको महसुस गर्थेँ र मलाई राम्रो पुस्तक आओस् भन्ने लाग्थ्यो। मैले पनि यो पुस्तक राम्रो बनाउन खोजेँ।
बिस्तारै पुस्तक प्रकाशनको तरिका बदल्नुपर्छ कि भन्ने सोचले हामी यो कदम चालिरहेका छौँ।