
मोरङ – मोरङ प्रहरीले भन्सार छली अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति पौने ८ बजे विराटनगर महानगरपालिकाको सरोचियाबाट सो मूल्यको अवैध कपडा बरामद गरेको हो।
महानगरपालिका–६ सरोचियास्थित २४ वर्षीय आशिफ खानको घरमा भन्सार छलेर संग्रह गरी राखिएको अवस्थामा कपडा बरामद गरिएको प्रवक्ता राईले जानकारी दिए।
पछिल्लो समय प्रहरीले भन्सार छली र अवैध रुपमा कारोबार गर्दै आएको सरसमान नियन्त्रण गर्ने क्रमलाई तीव्रता दिएको छ ।
शनिबार राति खानको घरबाट २ सय ४० थान स्वीटर, ८४ थान सुरुवा र १५ थान कुर्ता बरामद गरेको हो। पक्राउ परेका खानलाई कारवाहीका लागि कपडासहित भन्सार कार्यालय रानीमा बुझाउने प्रवक्ता राईले जानकारी दिए।
गत शुक्रबार प्रहरीले महानगरपालिका ७ स्थित तरुणकुमार रौनियारको गोदामबाट भन्सार छली राखिएको ३३ लाख ४१ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो।